भाद्र १०, २०७४- ११ वर्षका बालक आश्रय फुयालले ‘ड्रागन राइजिङ, द अवेकनिङ’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
नेपालमा जन्मिएर केही वर्षअघि बुबाआमासँग अस्ट्रेलिया आएका उनले अंग्रेजीमा लेखिएको उक्त पुस्तक अनलाइन स्टोरहरुमार्फत सार्वजनिक गरेका हुन् ।
सिड्नीको उत्तरी क्षेत्र लरिटनमा बस्दै आएका उनी स्थानीय विद्यालयमा कक्षा ६ का विद्यार्थी हुन् । सानैदेखि अध्ययनमा रुची राख्ने उनले साईन्स फिक्सन र फ्यान्टसी कथामा आधारित भएर उक्त पुस्तक लेखेका हुन् । आफूलाई सानैदेखि सोही विधाका कथाहरु मन पर्ने गरेको बताउँदै आश्रयले आफू जे के रोलिङको ठूलो फ्यान भएको र उनको ह्यारी पोर्टर किताबले आफूलाई धेरै प्रेरित गरेको सुनाए । ‘मलाई साईन्स फिक्सन एकदमै मनपर्छ, पहिलो प्रयासमा यो करिब ३० हजार शब्दको पुस्तक लेखेको हुँ’ उनले कान्तिपुरसँग भने ।
उनले आफ्नो पुस्तकलाई अनलाईन स्टोरहरु अमाजोन, कोबो, आइप्याड, स्क्रिब्ड, कोपियालगायतमा उपलब्ध गराएका छन् । पहिलो पुस्तकलाई धेरैले मन पराइदिएकोमा उनी मख्खमात्र छैनन् कि यही पुस्तकको दोस्रो भाग लेख्न सुरु समेत गरिसकेका छन् । उनका अभिभावकले पनि उनको अध्ययनप्रतिको रुचीलाई ध्यानमा राखेर भरपुर सहयोग पुर्याएको सुनाए । ‘केटाकेटीहरु सानोदेखि जे गर्न चाहन्छन् उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ भन्ने मान्यताअनुसार नै हामीले पनि उसलाई पुस्तक लेखनमा प्रेरित गरेका हौं’ उनका बुबा मिठाराम फुयालले भने ।
अस्ट्रेलियामा रहेर सानै उमेरमा अंग्रेजीमा पुस्तक प्रकाशित गर्ने उनी पहिलो नेपाली बालक बनेका छन् । आफूले यस पुस्तक सिरिजका रुपमा लेख्न सुरु गरेको बताउँदै केही महिनाभित्रैमा दोस्रो अंकसमेत सार्वजनिक गर्ने योजना सुनाए ।








0 comments:
Post a Comment