भाद्र ३, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार साँझ फोन गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालमा बाढीपहिरोबाट भएको जनधन क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । उनले नेपालीको दु:खमा सधैं भारतको साथ रहने बताएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।
त्यसक्रममा उद्धार र राहतका लागि भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबर सहयोग घोषणा गर्दै प्रधानमन्त्री मोदीले उक्त सहयोग कूटनीति च्यानलबाट तत्काल उपलब्ध हुने बताएका थिए । उनले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि व्यक्त गरे । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,’ प्रधानमन्त्री देउवालाई उल्लेख गर्दै सचिवालयले जनाएको छ ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङले तीन दिनअघि १० करोडको सहयोग घोषणा गरेर स्वदेश फर्केको भोलिपल्ट अर्को छिमेकका प्रधानमन्त्रीबाट यस्तो सहयोगको प्रतिबद्धता आएको हो । प्रधानमन्त्री देउवा आगामी बुधबार भारत भ्रमणमा जाँदै छन् ।








0 comments:
Post a Comment