अम्बिका दाहालद्वारा लिखित उज्यालो अनलाइनमा खबर छ ।
‘तपाईंहरु विदेशमा हराएका मान्छे खोज्नुहुन्छ रे, लौन मेरो छोरो पनि खोजी दिनु पर्यो’ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेकी बिमला भट्टराईले दिक्तेलको सूचना केन्द्रमा बिन्ती बिसाउनुभयो । ढाकाको चौबन्दी चोलो, फूलबुट्टे रातो धोती लगाएकी ५६ वर्षे बिमलाले काँधमा कलेजी रंगको हातेझोला भिर्नु भएको थियो । झोलाबाट दुईप्रति फोटो निकालेर देखाउँदै भन्नुभयो, ‘यहि हो मेरो छोरो, एउटा भाको छोराको पनि खुट् खबर छैन ।’
छोराको खबर सुन्न आत्तुर देखिनुहुन्थ्यो बिमला । हराएको छोरो अहिले नै भेट्न पाए हुन्थ्यो, नभएपनि खबर त सुन्न पाए हुन्थ्यो जस्तो ! बिमला को अपेक्षा उहाँको हाउभाउबाट प्रष्ट बुझ्न सकिन्थ्यो । हुनपनि बिमला ले छोरो भेट्न नपाएको ७ वर्ष पुग्यो । पहिले मलेसिया बसेर फर्किएका भोजकुमार घर पुगेनन् । हप्तादिनपछि काठमाडौंबाटै कतारतिर लागेका थिए । बिमला ले घर आएर मात्रै जाउ भन्दापनि साथीले भिसा पठायो, बरु अर्को पटक छिट्टै आउँछु नि भनेका थिए । २०७२ सालको भदौमा कतार गएका भोजकुमारले पुस सम्म त नियमित नै फोन गरे । तर त्यसपछि डेढ वर्षभयो हराएको । विदेशतिर हुने आफन्तलाई बिमला ले सोधि सक्नुभयो, केहि पत्ता लागेन । ‘कतै बसेको छ रे भन्ने सुन्न पाएपनि हुन्थ्यो’ सपना नराम्रो देख्दा पनि फोन गर्ने छोराले माया मारे जस्तो बिमला लाई लाग्दैन । छोरो हराएका दिनदेखि बिमला का आँखामा आँसु भरिए, अनुहार पीडाले पोतियो ।
छोरो कसरी कतार पुग्यो भन्ने पनि बिमला लाई थाहा छैन । कागजात पनि साथमा छैनन् । जाने बेला भनेको यति याद छ, ‘घुम्ने भिसामा जाने अनि उतै काम खोज्ने ।’ भिजिट भिसामा पुगेका कमलले काम पाएँ भनेका थिए । काम र कमाई राम्रो छ भन्दा बिमला लाई खुसी नलाग्ने कुरै भएन । छोरो कमाएर फर्किएला भन्ने आश विश्वासीलो हुँदै गयो । पहिले मलेसियामा पनि राम्रै कमाएका थिए । झण्डै पाँच वर्ष मलेसिया बस्दा सुनसरीको धरानमा घडेरी किने । ११ लाखमा किनेको घडेरीमा अब छोराले घर बनाउला र अनि बिहे गर्ने पैसा लिएर आउला भन्ने बिमला लाई आश थियो । पहिले मलेसियाबाट फर्किएपछि पनि बिमला ले विहे गर्न छोरालाई घर आइज भन्नु भएको थियो । तर २९ वर्षे भोजकुमारले एक पटक कतार पुगेर फर्किएपछि विहे गर्छु भने । ‘गरि खान खाँचो थिएन, आफ्नो जग्गा अधियाँ दिएका छौं, छोरो काम खोज्दै विदेश गयो, अचेलका छोराहरुलाई हुँदैन रहेछ यहाँ’ बिमलाले भन्नुभयो । ६० वर्ष पुगेका श्रीमान जंगबहादुर मोरङको एउटा अस्पतालमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । सातवटी छोरी मध्ये पाँचवटी विहे गरेर गइसके । दुईवटीको विहे गर्न बाँकी छ । एउटी अशक्त छन् ।
‘अब छोरीको बिहे गरेपछि आफ्नै घरजममा लाग्छन् । ८ वटा सन्तान हुर्काएर पनि हामीले बुढेसकालमा एक्लै बस्नुपर्ने भो’ सारीको सप्काले आँसु पुछ्दै बिमला ले बिलौना गर्नुभयो, ‘मेरो छोरो बदमास खालको त होइन, तर नभेटे सम्म साह्रै पीर भो ।’ सुरक्षित आप्रवासन परियोजना सामीले खोटाङमा सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रमा छोरो खोजिदिन आग्रह गर्दै बिमला घर फर्किनुभयो ।








0 comments:
Post a Comment